
खेलकुद विकास र युवा सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेलले पोखरामा आज शुक्रबारदेखि सुरु हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता–२०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।

पछिल्ला पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपमा एनसेल यसअघि पनि मुख्य प्रायोजक रहँदै आएको छ। यस वर्ष पनि आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गर्दै एनसेलले नेपाली भलिबलको प्रवर्द्धनमा साथ दिएको हो।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने माध्यम भएको उल्लेख गर्दै टाइगर कपले स्थानीय स्तरमा हुर्कँदै गरेका युवाप्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च दिने विश्वास व्यक्त गरे।


माघ १७ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी कुल ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेताले समान रूपमा रु ६,६६,६६६, दोस्रोले रु ३,६६,६६६ र तृतीयले रु २,०६,६६६ पुरस्कार प्राप्त गर्नेछन्।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले निरन्तर सहकार्यका लागि एनसेलप्रति आभार व्यक्त गर्दै टाइगर कपलाई देशकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता बनाउने यात्रामा यो सहयोग महत्वपूर्ण रहेको बताए।
एनसेलले भलिबलसँगै क्रिकेट, फुटबल र पारा खेलाडीहरूको सिप विकासमा समेत योगदान पुर्याउँदै आएको छ।
































