
आज नेपालमा राजनीति जनताका लागि होइन, जनतामाथि राजनीति भइरहेजस्तो देखिन्छ । महँगीले भान्सा चलाउन मुस्किल छ, युवाहरू रोजगारीको खोजीमा देश छाडिरहेका छन्, किसानले उत्पादनको मूल्य पाउँदैन, बिरामी परेपछि अस्पताल जाने कि ऋण खोज्ने भन्ने द्विविधा छ । यस्तो अवस्थामा जनता निराश, आक्रोशित र थाकेका छन् । यही आक्रोशबीच प्रश्न उठ्छ—कहिले सम्म हामी भोट बैंक मात्र बन्ने?

चुनाव नजिकिँदै जाँदा नेताहरू गाउँ–टोल पस्छन्, जनताका आँसु पुछेजस्तो गर्छन्, “अब परिवर्तन हुन्छ” भन्छन् । तर चुनाव सकिएपछि उही अनुहार, उही गठबन्धन, उही कुर्सीको खेल दोहोरिन्छ । सरकार फेरिन्छ, प्रधानमन्त्री फेरिन्छन्, तर जनताको अवस्था फेरिँदैन । जनताका समस्या सत्ता समीकरणको प्राथमिकतामा कहिल्यै पर्दैनन् । यसैले आज जनता नेताहरूबाट मात्र होइन, प्रणालीबाटै दिक्क भएका छन् ।अहिलेको सबैभन्दा ठूलो विडम्बना के हो भने—जनताको असन्तुष्टिलाई पनि नेताहरूले भोटकै साधन बनाइरहेका छन् । भ्रष्टाचारका काण्ड एकपछि अर्को सार्वजनिक हुन्छन्, तर दोषी कारबाही हुँदैनन् । उल्टै, काण्ड ढाकछोप गर्न सरकार ढल्छ, गठबन्धन फेरिन्छ, तर जनताको पीडा उस्तै रहन्छ । यसले जनतामा “भोट हालेर के फाइदा?” भन्ने खतरनाक भावना बढाइरहेको छ ।
युवाहरूको अवस्था झन् पीडादायक छ😥 । पढेर पनि काम छैन, काम पाए पनि तलबले जीवन धान्न सक्दैन । सीप र श्रम विदेशी भूमिमा बगिरहेको छ, गाउँ रित्तिँदै छन् । नेताहरू भाषणमा “युवा शक्ति देशको भविष्य हो” भन्छन्, तर नीतिमा युवाको भविष्य कतै देखिँदैन । यसरी युवाहरूलाई पनि केवल नारा र भोटको बैंक बनाइएको छ ।

महँगी, बेरोजगारी, शिक्षा र स्वास्थ्यको कमजोर अवस्था, किसानको पीडा—यी सबै मुद्दा जनताका दैनिक जीवनसँग जोडिएका हुन् । तर संसद् र सत्ता यी विषयभन्दा टाढा छन् । त्यहाँ पद, भागबण्डा र कुर्सीको गणित चलिरहेको छ । जनताको जीवन र नेताको राजनीति दुई फरक संसारजस्तै बनेका छन् ।
तर यति भन्दैमा सबै दोष नेतामा मात्र थोपरेर हामी उम्कन सक्दैनौँ । आज पनि धेरैजसो मतदान जात, पार्टी र व्यक्तिको नाममा हुन्छ । गलत काम गरे पनि “आफ्नो नेता” भनेर बचाउने संस्कार हामीमै छ । चुनावपछि गुनासो त गर्छौँ, तर प्रश्न सोध्न, दबाब दिन र हिसाब माग्न हामी कमजोर छौँ । यही कमजोरीले हामीलाई बारम्बार भोट बैंकमै सीमित बनाइरहेको छ ।

अब समय आएको छ—भोट बैंकबाट नागरिक शक्ति बन्ने ।
चुनावमा मात्र होइन, चुनावपछि पनि सक्रिय हुने ।
भ्रष्टाचारमा मौन नबस्ने ।
स्थानीय तहदेखि संघसम्म जवाफ माग्ने ।
सामाजिक सञ्जाल र नागरिक अभियानलाई गाली होइन, सचेत दबाबको माध्यम बनाउने ।
आजको परिस्थितिमा जनताले चाहेको सरकार भाषण गर्ने होइन, काम गर्ने हुनुपर्छ । गठबन्धन जोगाउने होइन, जनजीवन सुधार्ने हुनुपर्छ । यदि यही पुरानै शैली चलिरह्यो भने जनताको आक्रोश एकदिन विस्फोटमा बदलिन सक्छ, जुन लोकतन्त्रकै लागि खतरनाक हुनेछ ।
अन्त्यमा, प्रश्न अझै उस्तै छ—कहिले सम्म हामी भोट बैंक मात्र बन्ने?
जबसम्म हामी चुप लाग्छौँ, तबसम्म
जुनदिन हामी सचेत भएर बोलेर, छानेर र हिसाब मागेर अघि बढ्छौँ—त्यही दिनदेखि यो परिस्थिति बदलिन थाल्नेछ ।
परिवर्तन नेता बदलिँदा होइन, जनताको चेतना बदलिँदा सुरु हुन्छ।
✍️पशुपति जोशी (पुजा)
भिमदत नगरपालिका कञ्चनपुर




























