
नेकपा (एमाले) कास्कीका इन्चार्ज तथा गण्डकी प्रदेशका पूर्व सांसद कृष्ण थापाको निधन भएको छ। बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोलिरहेका बेला अचानक ढलेपछि उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पुष्टि गरिएको छ। चिकित्सकका अनुसार थापाको हृदयघातका कारण मृत्यु भएको हो।

बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर–१ को निर्वाचन समीक्षा बैठक आयोजना गरिएको थियो। सो बैठकमा करिब १० मिनेट मन्तव्य राखिरहेका बेला उनी अचानक अस्वस्थ भई ढलेको एमाले नेताहरूले बताएका छन्।

राजनीतिक जीवनमा सक्रिय रहेका थापा गण्डकी प्रदेशका पूर्व सांसद थिए। उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। स्थानीय तहदेखि प्रदेश राजनीतिसम्म सक्रिय भूमिका खेलेका थापाको निधनले एमाले र गण्डकी प्रदेशको राजनीतिक क्षेत्रमा शोक छाएको छ।
































