
अमेरिका–इजरायलको इरानमाथिको आक्रमण र त्यसपछिको प्रत्याक्रमणले विश्व ऊर्जा आपूर्ति प्रणालीमै दबाब सिर्जना गरेको छ। यसको मनोवैज्ञानिक प्रभाव नेपालसम्म आइपुग्दा भान्छामा प्रयोग हुने ग्यास अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धि देखिएको छ।

नेपालमा ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति भारतीय आयल कर्पोरेशनमार्फत हुने भएकाले पश्चिम एसियाको तनावले भारतको आपूर्ति प्रणाली प्रभावित हुँदा यसको असर नेपालमा पनि परेको हो। यद्यपि हालसम्म ग्यास, पेट्रोल र डिजेलको आपूर्ति नियमित रहेको सरोकारवालाले बताएका छन्। नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत हुने र सोही अनुपातमा आपूर्ति भइरहेको जनाइएको छ।

तर, भारतमा अभावको खबरसँगै नेपालमा उपभोक्ताले ग्यास भण्डारण गर्न थालेपछि बजारमा अभावजस्तो देखिएको छ। प्राविधिक समस्या र मागको असन्तुलनका कारण केही दिन असहज भए पनि अवस्था क्रमशः सुधारोन्मुख रहेको बताइएको छ।

यता उपभोक्ता अधिकारकर्मीले भने बजारमा कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन्। लुकाइएका सिलिन्डर बरामद हुनु, आधा सिलिन्डर वितरणजस्ता गतिविधिले उपभोक्ता झन् त्रसित बनेका छन्। उनीहरूले कालोबजारी नियन्त्रण, प्रभावकारी अनुगमन र राहत योजना तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।































