
बिलाउँछु एकदिन धुँवा बनी आकासमा,
पुगनेछु असिना पानी नभनी आकासमा।
रूनेहरू आफैले पनि छाडेर फर्किन्छन्,
पुराउन बालेर आगो दनदनी आकासमा।
जन्मिएका सबैको गनतव्य नै यही हुनेछ,
बिलाउँछौँ नभनी गरीब धनी आकासमा।
रगत पसिनाले सिंचेर बनाउँछन् इतिहास,
सिखर नपुग्दै बिलायो सपनी आकासमा।
किन वाइहातमा तिमी धनकै पछि भाग्छौ
बादलको आफ्नै कथा छनी आकासमा।
स्वर्ग नर्क कतै छ भनि यही समाजमा छ,
छाडेर पुग्नेछौँ पिडा असहनी आकासमा।

॥१॥
राम्रो काम गर्नेहरूको पनि उपहास हुने भयो,
बिधि र विधानको समेत सत्यानाश हुने भयो।
बहुदलका कुरा कसरी गरौं मित्र देख्दा चाला,
ऋणमा डुबायो युवाको बाहिरै बास हुने भयो।
ज्योत जलाउनेहरू कपासमै आगो लगाउछन्,
बारीमा ठुटा पोल्दा प्रदुषणको राश हुने भयो।
जसले जीवन हत्थकेलामा राखेर लड्यो यहां,
अवसर्वादले गर्दा वृद्धवस्थामा दाश हुने भयो।
मानिसले विवेक पुराउन नसक्दा हिंजो आज,
अपराधीको लागि निर्दोशको लाश हुने भयो।
समाजमा पनि राम्रो नराम्रो छान्ने यन्त्र हुनैपर्छ,
बिना यन्त्र फोहोर पनि त यहां खास हुने भयो।

॥२॥

हाम्रो विचार पनि कसैले गाए गजल भैदिन्छ,
कलाकारको हातमा परेपछि असल भैदिन्छ।
समाज बदल्ने उदेश्य बोकेका शब्दहरू पनि,
कुनै दिन यही हाम्रै समाजमा अमंल भैदिन्छ।
गुणमा प्रवेश पाउन समय लाग्छ मात्रामैपनि,
लगातारको प्रयास पछि त्यो सफल भैदिन्छ।
खोलाहरू जुटेर त समुन्दर बन्छ थाहा होला,
थोपा थोपा जुटेर बगाउनसक्ने भल भैदिन्छ।
हामी ठोंसकै प्रयासमा तरलताको गुण भुल्यौं,
मन पग्लिएर बनेको आंसु पनि जल भैदिन्छ।
सबैभन्दा सचेत प्राणी भनेकै मानिशहरू हौं,
परिस्थिति आए बुद्धिमान वेअक्कल भैदिन्छ।
॥३॥
म भुलिदिउंला मनभित्र घाउ आलो भएपनि,
मलाई छाडेर तिमि अर्कैको गोठालो भएपनि।
फूल फुल्नेनै छ बगैचा कसैको के फर्कपर्ला,
घुम्ने छन् भमरा उनिहरू मन कालो भएपनि।
के फर्क पर्छ तिमिलाई म पिञ्जडामै थन्किए,
नहिंडी सुख्ख छैन उकालो ओरालो भएपनि।
स्वार्थको पेटारो बोकी कती ठाउं हिड्यौ होला,
पछुताउनैपर्छ आंखामा आज जालो भएपनि।
अपराधी त सजायको भागिदार नै हुन्छ मित्र,
त्यो विदेशी गोठालो मन्त्रीको सालो भएपनि।
कमसल नसम्झ सबैको आआफ्नै मूल्य हुन्छ,
इज्जत उसैले ढाक्नेछ फाटेको टालो भएपनि।
सुरेशकुमार पाण्डे दाङ घोराही १८





























