
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। गण्डकी र कर्णालीका केही हिमाली स्थानमा तथा अन्य पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने जनाइएको छ।































