
नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू–भागमा बदली बढ्दै वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले हिमाली क्षेत्रमा बाक्लो बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदली छ। तराईका जिल्लामा भने मौसम सामान्यतया सफा र घाम लाग्ने अवस्था रहेको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली भू–भागमा हल्का वर्षा र हिमपात भइरहेको छ। आज पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै गण्डकी र अन्य हिमाली क्षेत्रमा पनि छिटफुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसममा आएको यस परिवर्तनले विशेषगरी पहाडी र हिमाली जनजीवनमा सामान्य असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
































