
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५औं महाधिवेशनसम्बन्धी कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ। शनिबारका लागि तय गरिएको कार्यक्रम कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रदेश कार्यसमितिलाई पत्रमार्फत स्थगित भएको जानकारी दिएका हुन्।

पत्रमा ‘विशेष कारण’ उल्लेख गरिए पनि स्पष्ट कारण खुलाइएको छैन। यद्यपि, प्रदेश कार्यसमितिले कार्यक्रमप्रति अपेक्षित चासो नदेखाएको कारण स्थगन भएको आन्तरिक चर्चा छ। एक पदाधिकारीका अनुसार मुख्यमन्त्रीस्तरबाट समेत सकारात्मक प्रतिक्रिया नआएपछि कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेन।

यसअघि कर्णाली प्रदेशको सुर्खेतमा हुने समीक्षा कार्यक्रम पनि सारिएको थियो। कांग्रेसले मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भने समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ।

सुदूरपश्चिम, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश समेत भएकाले यहाँको कार्यक्रम स्थगित हुनु राजनीतिक रूपमा चासोको विषय बनेको छ।





























