
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। नतिजा सार्वजनिकसँगै परीक्षार्थीहरूले सहज रूपमा परिणाम हेर्न सकून् भन्ने उद्देश्यले विभिन्न डिजिटल तथा टेलिफोनिक माध्यमहरूको विस्तृत सूची सार्वजनिक गरिएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) सेवा र विभिन्न आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। यसले विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई घरमै बसेर सहज रूपमा नतिजा प्राप्त गर्ने सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
एसएमएस तथा आईभीआरमार्फत नतिजा प्राप्त गर्न नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाउन वा फोन गर्न सकिनेछ। त्यस्तै, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरबाट समेत एसएमएस सेवा उपलब्ध हुनेछ।

इन्टरनेट प्रयोगकर्ताका लागि नतिजा हेर्न १४ वटा वेबसाइटलाई अनुमति दिइएको छ। यसमा www.see.gov.np र www.neb.gov.np जस्ता आधिकारिक सरकारी पोर्टल प्रमुख रहेका छन्। साथै नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेसन्सको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com तथा खल्ती एप/वेबसाइट https://khalti.com/app मार्फत पनि नतिजा हेर्न सकिनेछ।

यसैगरी निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्स लगायतका शैक्षिक प्लेटफर्महरू पनि नतिजा प्रकाशनको आधिकारिक माध्यमका रूपमा रहनेछन्।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि भ्रमबाट बच्न आधिकारिक माध्यममार्फत मात्र नतिजा रुजु गर्न सबै परीक्षार्थी तथा अभिभावकलाई आग्रह गरेको छ। नतिजा सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विद्यार्थीहरूमा उत्साह र जिज्ञासा दुवै बढेको छ।































