
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी घरेलु सिरिजमा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा अलआउट भयो।

अमेरिकाका ओपनर स्मित पटेलले ८४ रनको उत्कृष्ट इनिङ खेले। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। शेहान जयसुरियाले ५० रनको योगदान दिँदै दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे पनि नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले साझेदारी तोडे।

१२२ रनमा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि लगातार विकेट गुमाउँदै ठूलो स्कोर बनाउन सकेन। मिलिन्द कुमारले २८, हर्मित सिंहले १४ रन बनाए भने बाँकी ब्याटर सस्तैमा आउट भए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए। बलिङमा नेपाल हाबी भएपछि अमेरिका कम स्कोरमा समेटियो।































