
गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्रै ३७ दुर्घटना हुँदा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्। प्रदेशगत रूपमा कोशीमा ३५ दुर्घटनामा दुई मृत्यु, मधेसमा २० दुर्घटनामा २७ घाइते, बागमतीमा १२ दुर्घटनामा एक मृत्यु र १९ घाइते भएका छन्।
त्यस्तै गण्डकीमा पाँच दुर्घटनामा चार जनाको मृत्यु र तीन घाइते भएका छन् भने लुम्बिनीमा नौ दुर्घटनामा तीन मृत्यु र १५ घाइते भएका छन्। कर्णाली र सुदूरपश्चिममा तीन–तीन दुर्घटना भएका छन्।


प्रहरीका अनुसार रातिको समय, चाडपर्व र बिदाका बेला मापसेका कारण दुर्घटना बढी हुने गरेको छ। मापसेले चालकको निर्णय क्षमता कमजोर बनाउने र सवारी नियन्त्रण गुम्ने भएकाले जोखिम अत्यधिक हुने बताइएको छ।
ट्राफिक प्रहरीले मापसे नियन्त्रण अभियानलाई कडा बनाएको छ। साथै, सचेतनामूलक कार्यक्रमसँगै कानुनी कारबाही पनि तीव्र पारिएको छ। प्रहरीले सबैलाई जिम्मेवार भएर सवारी चलाउन अपिल गरेको छ।
































