
अमेरिका–इजरायल–इरान बीच जारी तनाव कम हुने सम्भावनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। सम्भावित शान्ति वार्ता र द्वन्द्व अन्त्यतर्फको संकेतसँगै लगानीकर्तामा सकारात्मक धारणा बनेपछि तेल बजार ओरालो लागेको हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा संलग्न पक्षहरूबीच “मजबुत प्रस्ताव” तयार भएको बताउँदै केही दिनभित्रै सहमति हुने सम्भावना औँल्याएका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्तालाई हतारमा निष्कर्षमा नपुर्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।
सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ५.५ प्रतिशतले घट्दै प्रतिब्यारेल ९७.९० अमेरिकी डलरमा पुगेको थियो। त्यसपछि मूल्य करिब ९७.७० डलर आसपास स्थिर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


ऊर्जा आपूर्तिका दृष्टिले महत्वपूर्ण मानिने Strait of Hormuz पुनः सञ्चालन गर्ने विषय सम्भावित सम्झौतामा समेटिएको बताइएको छ। यो मार्गबाट विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी ढुवानी हुने गर्दछ, जुन द्वन्द्वका कारण प्रभावित भएको थियो।
इरानले वार्तामा प्रगति भए पनि तत्काल सम्झौता हुने अवस्था नरहेको जनाएको छ। विशेषज्ञहरूका अनुसार सम्भावित सहमतिले बजारलाई तत्काल राहत दिने भए पनि आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने देखिन्छ। ऊर्जा संरचना पुनःस्थापनामा महिनौँ लाग्न सक्ने अनुमान गरिएको छ।
































