
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्ययोजना, विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको छ। साथै सांसदहरूका सुझाव, पार्टीका प्रतिबद्धता र सरकारको सुशासनसम्बन्धी मार्गचित्रलाई पनि समेटिएको बताइएको छ।


नयाँ संविधान जारी भएपछि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने परम्पराअनुसार आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गरिने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
यस वर्षको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ।
चालु आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरिएको थियो।
































