
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको स्पष्ट पारेका छन्। सरकारले कर्मचारीलाई झुक्याएको भन्ने चर्चा निराधार रहेको बताउँदै उनले १० प्रतिशत आधार तलब वृद्धि, १० प्रतिशत कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा हालको ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएकाले कुल लाभ २१ प्रतिशत बराबर हुने बताए।


पत्रकार सम्मेलनमा उनले कर्मचारीतन्त्रले चुनाव, विपद् व्यवस्थापन र ठूला राष्ट्रिय कार्यक्रमजस्ता ‘मिसन मोड’का काम प्रभावकारी रूपमा सम्पन्न गरे पनि दैनिक सेवा प्रवाहमा सुधार आवश्यक रहेको उल्लेख गरे। सरकारी कार्यालयमा ढिलासुस्ती र भ्रष्टाचारबारे जनगुनासो आउने गरेको भन्दै अब नियमित कामलाई पनि ‘मिसन मोड’मा सञ्चालन गर्ने नीति लिइएको बताए।
अर्थमन्त्री वाग्लेले आगामी दिनमा कार्यसम्पादन मूल्याङ्कनलाई थप प्रभावकारी बनाउँदै प्रोत्साहन भत्ता वास्तविक कार्यसम्पादनका आधारमा वितरण गर्ने व्यवस्था क्रमशः लागू गरिने जानकारी दिए।
































