
नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ। मंगलबार सम्पन्न एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपाल र मलेसिया दुवैले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गर्दै एसियन गेम्सको टिकट पक्का गरेका हुन्।

सात टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ भने सेमिफाइनलमा पुग्ने चारवटै टोलीले एसियन गेम्समा सहभागिता जनाउने अवसर पाउनेछन्।
नेपाल रहेको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र बाँकी रहेका थिए। नेपालले आइतबार चीनलाई पराजित गर्दै महत्वपूर्ण जित निकालेको थियो। त्यसपछि मंगलबार मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवै शीर्ष दुईभित्र रहँदै एसियन गेम्सका लागि छनोट भएका हुन्।


अब नेपाल र मलेसियाबीच बिहीबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ। नेपाली टोली उत्कृष्ट लयमा देखिएकाले समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ।
यता नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित भएपछि एसियन गेम्समा स्थान बनाउन असफल भएको थियो। पुरुष टोलीको सफलताले भने नेपाली क्रिकेट समर्थकमाझ नयाँ उत्साह र आशा थपेको छ।
































