
सरकारले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई केन्द्र खाली गर्न थप एक साताको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै अब आगामी असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न सकिने जनाएको हो।

यसअघि असार ९ गते जारी सूचनामार्फत असार १२ भित्र केन्द्र खाली गर्न निर्देशन दिइएको थियो। तर, घरभाडा खोज्न तथा वैकल्पिक बसोबासको व्यवस्था मिलाउन समय अपुग भएको गुनासो आएपछि म्याद थप गरिएको समितिले जनाएको छ।
गत वैशाखमा सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका सुकुम्बासी बस्ती हटाएपछि प्रभावित परिवारलाई दशरथ रङ्गशालामा विवरण दर्ता गराई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। सरकारले अहिले प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराएर बिदा गर्ने तयारी गरेको छ। राहत रकम लिन असार १५ गतेभित्र बैंक खाता नम्बर सहित निवेदन पेश गर्न आग्रह गरिएको छ।


यद्यपि, सुकुम्बासी तथा सरोकारवालाले स्थायी पुनःस्थापनाको व्यवस्था नगरी सामान्य राहत रकम दिएर होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्। नदी किनारबाट हटाउँदा ६० दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता पूरा नभएको उनीहरूको आरोप छ।

































