
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सांगठनिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय गरेको छ। पहिलो महाधिवेशनपछि बुधबार पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै बसेको बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेको हो।

बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूबीच बधाई आदानप्रदानसँगै पार्टीका विभिन्न विभागमा कार्यविभाजनबारे प्रारम्भिक छलफल गरिएको थियो। यद्यपि सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य पदमा तत्काल कुनै मनोनयन नगर्ने निर्णय गरिएको छ।

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ केन्द्रीय सदस्य, ३३ सचिवालय सदस्य र १० पदाधिकारी मनोनयन गर्ने अधिकार रहेको छ। महामन्त्री निशा डाँगीका अनुसार आवश्यकताअनुसार आगामी दिनमा क्रमशः मनोनयन प्रक्रिया अघि बढाइनेछ।

बैठकले निर्वाचन, लेखा र अनुशासन आयोगको नेतृत्व पनि टुंगो लगाएको छ। निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिइएको छ भने अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेल नियुक्त भएका छन्।
































