
बर्डफ्लुको जोखिम बढ्दै गएपछि पशुसेवा विभागले देशभर उच्च सतर्कता अपनाउन आग्रह गर्दै पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य गरेको छ।

विभागले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै सङ्ख्यामा पन्छी बिरामी परे वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले सबै सरोकारवाला निकाय, व्यवसायी र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
विभागका महानिर्देशक उमेश दाहालले फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न तथा ढुवानीका सवारीसाधनलाई पूर्ण रूपमा निःसङ्क्रमण गरेपछि मात्र फार्मभित्र प्रवेश गराउन निर्देशन दिएका छन्। घरपालुवा पन्छीलाई कागलगायत जङ्गली पन्छीसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ।


विभागका अनुसार बर्डफ्लु देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा तीन लाख किलो दाना नष्ट गरिएको छ।
रोग नियन्त्रणका लागि उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरेर नियन्त्रण अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।
































