
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जिम्मेवारी सम्हालेको १०० दिनमा मन्त्रालयले ४८ प्रमुख उपलब्धि हासिल गरेको जनाएको छ। सार्वजनिक गरिएको प्रगति विवरणअनुसार ‘मेरो कित्ता’ मोबाइल एप सञ्चालनमा ल्याइएपछि नक्सा प्रिन्ट र फिल्डबुक उतारलगायत सेवा मोबाइलबाटै उपलब्ध हुन थालेका छन्। एपमा हालसम्म चार हजार ७७९ संस्थागत प्रयोगकर्ता आबद्ध भएका छन्।

मन्त्रालयका अनुसार भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ। सहकारी क्षेत्रतर्फ एक हजार ७५४ बचतकर्तालाई रु २ करोड ६३ लाख फिर्ता गरिएको तथा १५४ ऋणीबाट रु ४ करोड ३२ लाखभन्दा बढी ऋण असुल गरिएको जनाएको छ।

यस्तै, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको, छ स्थानीय तहबाट नापी–मालपोत सेवा सुरु गरिएको तथा कर्मचारी सरुवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट गर्ने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नेपाल सरकारका नाममा ल्याइनु, किताबखाना पूर्ण रूपमा डिजिटल बनाइनु र तीन प्रदेशमा निजामती अस्पताल सेवा विस्तार गरिनुलाई पनि उपलब्धिका रूपमा उल्लेख गरिएको छ। साथै, विभिन्न कानुन तथा विधेयकको मस्यौदा तयारी, स्थानीय तहको सेवा सुधार र प्रशासनिक प्रणालीलाई थप पारदर्शी तथा प्रविधिमैत्री बनाउने कार्यलाई मन्त्रालयले १०० दिनका मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

































