
भारतको महाराष्ट्रमा लगातार पाँचौं दिनसम्म भारी वर्षा जारी रहँदा जनजीवन प्रभावित भएको छ। विशेषगरी मुम्बईका बासिन्दाले डुबान, यातायात अवरोध र दैनिक कामकाजमा समस्या भोगिरहेका छन्।

भारत मौसम विज्ञान विभागले आइतबार मुम्बईसहित रायगड, नासिक, पालघर, ठाणे, पुणे, सतारा र रत्नागिरी जिल्लाका लागि भारी वर्षाको सम्भावना जनाउँदै ‘रेड अलर्ट’ जारी गरेको छ।
मुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जालमार्फत रेड अलर्ट लागू भएका क्षेत्रहरूको जानकारी सार्वजनिक गर्दै मुम्बई, ठाणे, पालघर र पनवेलका लागि आपतकालीन हेल्पलाइन नम्बरसमेत उपलब्ध गराएका छन्।




पछिल्लो २४ घण्टामा मुम्बईको कोलाबामा २६५.६ मिलिमिटर र सान्ताक्रुजमा २२७.७ मिलिमिटर वर्षा मापन गरिएको छ। रायगडको माथेरानमा ४०८ मिलिमिटर, भीरामा ३८६ मिलिमिटर तथा सांगलीको डोंगरवाडीमा ३९८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। मौसम विभागले आगामी केही दिन पनि सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।



































