
कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजीका क्रममा सोमबार बिहान दुई शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मोहन्याल गाउँपालिका–६ सुँगुरखाल र सुर्खेतको पश्चिम बाबियाचौर क्षेत्रमा अन्दाजी ३५ वर्षीय एक पुरुषको शव फेला परेको हो। प्रारम्भिक अनुमानअनुसार उक्त शव दुर्घटनामा बेपत्ता भएका चालक वा सहचालकमध्ये एकको हुन सक्ने प्रहरीले जनाएको छ।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित बुरिङ्गे क्षेत्रमा अर्को एक जनाको शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जय राज सापकोटाले जानकारी दिए।

दुवै शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। गत बिहीबार कर्णाली नदीमा फोर्स गाडी खस्दा केही यात्रु बेपत्ता भएका थिए। फेला परेका शव उनीहरूमध्येकै हुन सक्ने आशंकामा प्रहरीले हराइरहेका व्यक्तिका आफन्तलाई पहिचानका लागि बोलाएको छ। घटनाबारे थप अनुसन्धान तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

































