
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छ। प्रहरीका अनुसार उनी मुगुको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा तथा हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्।

बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको तेस्रो गेट नजिक उनले आफू चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याएको थियो। अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भाग जलेका छन् र अवस्था गम्भीर रहेको छ। प्रहरीले उनी अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।































