
विराटनगर महानगरपालिका–१८ भेडियारीमा १७ वर्षीय मञ्जितकुमार यादवको शव पोखरीमा फेला परेपछि शुक्रबार क्षेत्र तनावग्रस्त बनेको छ। शव पोस्टमार्टमका लागि लैजान प्रहरीले प्रयास गरेपछि आफन्त र स्थानीयले अवरोध गर्दै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेपछि प्रहरीले लाठीचार्ज गरी भीड नियन्त्रणमा लिएको जनाएको छ।

स्थानीयले किशोरको मृत्यु प्रहरीको लखेटाइका कारण भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन, संलग्न प्रहरीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। माग पूरा नभएसम्म शव नउठाउन दिने अडान उनीहरूले लिएका थिए।
प्रहरीका अनुसार बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको आशंकामा जाँच गर्न खोज्दा मञ्जित मोटरसाइकल छाडेर भागेका थिए। भाग्ने क्रममा उनी पोखरीमा हाम फालेको दाबी प्रहरीले गरेको छ। घटनास्थलबाट भारतका ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ।


मृत्युको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ भने स्थानीयले निष्पक्ष छानबिन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
कान्तिपुरबाट केही शब्द साभार
































