
धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा रहेका पाँच जना तथा सरकारी गाडीमा सवार उपप्रमुखसहित तीन जना गरी आठ जना घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा भर्ना गरिएको प्रहरीले जनाएको छ।


घाइतेमध्ये एम्बुलेन्स चालक दिपेन्द्र कुमार महतो, बसन्त कुमार सिंह, राजु देवी, लक्ष्मी महतो र रेणु कुमारी महतो रहेका छन्। रेणु कुमारी महतोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने अन्यको अवस्था सामान्य छ। पक्षघातबाट पीडित राजु देवीलाई उपचारका लागि लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ।
सरकारी गाडीमा चालक बद्री भुजेल, उपप्रमुख विद्दा भुजेल र भीमराज भुजेल पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
































