
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार राति युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ। टेक्ससको अर्लिङटनस्थित ड्यालस स्टेडियममा हुने खेलमा विश्व फुटबलका दुई स्टार किलियन एम्बाप्पे र युवा सनसनी लामिन यामाल आमनेसामने हुनेछन्।

फुटबल विश्लेषकहरूले यस खेललाई विश्वकपकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एकका रूपमा लिएका छन्। ‘अप्टा’को सुपर कम्प्युटरका अनुसार निर्धारित ९० मिनेटभित्र फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत, स्पेनको ३१.८ प्रतिशत र खेल अतिरिक्त समयमा जाने सम्भावना २६.१ प्रतिशत रहेको छ।

हेड–टु–हेड तथ्याङ्कमा भने स्पेन केही अघि देखिन्छ। हालसम्म भएका ३८ भेटमा स्पेनले १८ खेल जितेको छ भने फ्रान्स १३ खेलमा विजयी भएको छ। सात खेल बराबरीमा सकिएका छन्। पछिल्ला दुई भेटमा पनि स्पेनले फ्रान्सलाई पराजित गरेको थियो।

यद्यपि विश्वकप इतिहासमा यी दुई टोलीबीच भएको एकमात्र भेट सन् २००६ मा फ्रान्सले ३–१ ले जितेको थियो। दुवै टोली उत्कृष्ट लयमा रहेकाले आजको विजेताले विश्वकप फाइनलको यात्रा तय गर्नेछ।































