
नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला २–० ले आफ्नो नाम गरेको छ। दोस्रो खेलमा डकवर्थ–लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले विजयी हुँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो। यसअघि पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो।

२ सय ८३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ४६औँ ओभरमा ब्याटिङ गरिरहँदा वर्षाका कारण खेल रोकिएको थियो। खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धतिअनुसार नेपाललाई विजेता घोषित गरियो। खेल रोकिँदा दीपेन्द्रसिंह ऐरी ३४ र कप्तान रोहित पौडेल २१ रनमा अविजित थिए।

नेपालका लागि इशान पाण्डेले शानदार ९० रन बनाए भने कुशल भुर्तेलले ५१ रन र भीम सार्कीले ३७ रनको योगदान दिए। यसअघि पहिले ब्याटिङ गरेको जर्सीले ६ विकेट गुमाएर २८२ रन बनाएको थियो। नेपालका करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट हात पारे।






























