
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध दायर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बयान र थुनछेक बहसपछि धरौटी वा थुनामा राख्न आवश्यक नदेखिएको ठहर गरेको हो।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो अनुसन्धानपछि पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै बिहीबार मुद्दा दर्ता गरेको थियो। अदालतको आदेशसँगै उनले हिरासत बाहिरै बसेर कानुनी प्रतिरक्षा गर्नेछन्। उच्च राजनीतिक पदमा रहेका नेताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि यो विषय राजनीतिक तथा कानुनी वृत्तमा चासोको केन्द्र बनेको छ।





























