
लगातारको वर्षा र मनसुनजन्य विपद्को जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको यात्रा जोखिमपूर्ण हुने भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो। परिस्थितिअनुसार आवश्यक परे जुनसुकै समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी पनि दिइएको छ।

रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।

प्राधिकरणले भारी वर्षासँगै बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम उच्च रहने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेषगरी रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ। साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै जोखिमयुक्त सडकमा हेभी उपकरण तयारी अवस्थामा राख्न तथा आवश्यक परे बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।





























