
कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा शनिबार बिहान भएको घटनामा छतबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले बिहान करिब साढे ९ बजे महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले भवनको छतबाट हाम फालेका थिए। उनी बीएचएम (Bachelor of Hotel Management) को प्रवेश परीक्षा दिन क्याम्पस पुगेका बेला उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर घाइते भएका कार्कीलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा शनिबार दिउँसो करिब १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।


प्रहरीका अनुसार कार्कीलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र परिवारका सदस्यका अनुसार उनी लामो समयदेखि औषधि सेवन गर्दै आएका थिए। घटनाको वास्तविक कारण खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यदि तपाईं वा तपाईंले चिन्नुभएको कसैले आत्महत्या वा आत्महानिबारे सोचिरहेको छ भने, विश्वासिलो व्यक्ति, परिवार वा मानसिक स्वास्थ्य विशेषज्ञसँग तत्काल कुरा गर्नु महत्त्वपूर्ण हुन्छ। सहायता समयमै माग्नु प्रभावकारी हुन सक्छ।































