
शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये आवश्यक योग्यता र मापदण्ड पूरा गरेका उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको छ। आयोगले साउन १ गते प्रकाशित सूचनाअनुसार परेको आवेदन शिक्षा ऐन, २०२८ बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार स्वीकृत नामावली सार्वजनिक गरेको हो।


आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाका अनुसार अध्यक्ष पदका लागि मधुसूदन अधिकारी, रघुराम विष्ट, डा. रोजनाथ पाण्डे, डा. हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीसहित ६ जनाको आवेदन स्वीकृत भएको छ।
त्यस्तै, सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये २० जनाको दरखास्त स्वीकृत गरिएको छ। आयोगले तोकिएको योग्यता र कानुनी मापदण्ड पूरा गरेका उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा समावेश गरिएको जनाएको छ।
स्वीकृत उम्मेदवारहरू अब आयोगको अध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी आगामी छनोट तथा सिफारिस प्रक्रियामा सहभागी हुनेछन्।

































