
आज विश्व युवा दिवस। संसारभरका युवाहरूका कुरा हुँदैछन्। युवा शक्ति, युवा सहभागिता, युवा नेतृत्व, युवा अधिकार, युवा भविष्यलगायतका विषयमा बहस भइरहेका छन्। नेपालमा पनि युवा दिवस मनाइँदैछ। विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। भाषण भइरहेका छन्। शुभकामना आदानप्रदान भइरहेका छन्। युवाका नाममा प्रतिबद्धताहरू व्यक्त भइरहेका छन्।

तर मेरो मनमा एउटा प्रश्न छ, युवा दिवस भनेको के हो ? के यो कुनै पर्व हो ? के यो केवल खुसी मनाउने दिन हो ? के यो एउटा कार्यक्रममा सहभागी भएर फोटो खिचाउने र सामाजिक सञ्जालमा शुभकामना लेख्ने दिन मात्रै हो ? वा यो दिन वास्तवमै युवाको अवस्था, उनीहरूको पीडा, सम्भावना र भविष्यबारे गम्भीर भएर सोच्ने दिन हो ?
युवा दिवस मनाइरहँदा मलाई बारम्बार यही प्रश्नले पछ्याइरहेको छ; साँच्चिकै नेपाली युवा खुसी छन् त ?

सायद केही युवा खुसी होलान्। कुनै कार्यक्रममा सहभागी भएर, मञ्चमा उभिएर, प्रमाणपत्र लिएर वा सामाजिक सञ्जालमा आफ्नो तस्वीर राखेर केही समय खुसी होलान्। तर त्यही कार्यक्रममा सहभागी भएका सबै युवा आफ्नो भविष्यप्रति ढुक्क छन् भन्ने आधार के छ ?
युवा दिवसको एउटा कार्यक्रममा सहभागी हुँदैमा युवाको जीवनमा रहेका समस्या समाधान हुँदैनन्। एउटा दिन युवाका लागि भाषण गर्दैमा उनीहरूको बेरोजगारी हट्दैन। एउटा दिन युवाका समस्या सुनाउँदैमा उनीहरूको मानसिक तनाव कम हुँदैन। एउटा दिन युवा उद्यमशीलताको कुरा गर्दैमा युवाले उद्यम गर्ने वातावरण पाउँदैनन्।
त्यसैले आजको दिन एउटा प्रश्न सोधौँ; हामी युवा दिवस मनाइरहेका छौँ कि, युवाको वास्तविकता लुकाइरहेका छौँ ?
आजका युवा प्रविधिमैत्री छन्। संसारमा भइरहेको परिवर्तनलाई सबैभन्दा छिटो आत्मसात गर्ने पुस्ता युवा नै हो। मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चारदेखि विभिन्न प्रविधिको प्रयोगमा नेपाली युवा पनि अगाडि छन्। गाउँको एउटा कुनामा बसेको युवाले पनि संसारका नयाँ प्रविधिबारे जानकारी राख्न सक्छ। केही वर्षअघिसम्म कल्पना गर्न नसकिने कुरा आज एउटा मोबाइलको स्क्रिनमा उपलब्ध छ। यो युवाको ठूलो शक्ति हो।
प्रविधि आजको युवाको हातमा रहेको एउटा बलियो हतियार हो। यसलाई सही ढंगले प्रयोग गर्न सकियो भने युवाले आफ्नै गाउँबाट संसारसँग प्रतिस्पर्धा गर्न सक्छन्। ज्ञान लिन सक्छन्। सीप सिक्न सक्छन्। रोजगारी सिर्जना गर्न सक्छन्। उद्यम गर्न सक्छन्। आफ्ना कुरा संसारसम्म पुर्याउन सक्छन्।
तर प्रश्न फेरि उही हो, के हामीले युवालाई प्रविधि चलाउन मात्रै सिकाएका छौँ कि त्यसको उपयोग गरेर भविष्य बनाउन सक्ने वातावरण पनि दिएका छौँ ? मोबाइल हातमा छ। इन्टरनेट हातमा छ। ज्ञानको पहुँच हातमा छ। तर अवसर कहाँ छ ?
प्रविधिको पहुँचसँगै निराशाको गहिराइ, आजको अर्को कठोर यथार्थ पनि स्वीकार गर्नुपर्छ। हाम्रा कैयौँ युवा कुलतमा छन्। मानसिक समस्यासँग जुधिरहेका छन्। लागूऔषधको दलदलमा फसिरहेका छन्। कैयौँ युवा कारागारका कोठरीमा छन्। कैयौँ सुधारगृहमा जीवन बिताइरहेका छन्।
यी सबैको कारण एउटै छैन। परिवार, समाज, आर्थिक अवस्था, बेरोजगारी, संगत, अवसरको अभाव, मानसिक दबाबलगायत धेरै कारणले युवा गलत बाटोमा पुगिरहेका छन्। तर राज्य र समाजले यसलाई केवल युवाको व्यक्तिगत कमजोरीका रूपमा हेरेर पुग्छ ?
युवाले आफ्नो भविष्य देख्न नसक्ने अवस्था सिर्जना गरिदिएपछि त्यसको जिम्मेवारी कसको ?
एउटा युवा दिनभर काम खोजेर साँझ घर फर्कन्छ। अर्को युवा विदेश जाने तयारीमा वर्षौं बिताउँछ। अर्को युवा पढाइ सकेर पनि जागिर खोज्दै हिँड्छ। अर्को युवा व्यवसाय गर्ने सोच बनाउँछ तर लगानी, नीति र बजारको अभावमा पछि हट्छ। अनि हामी त्यही युवालाई भन्छौँ; “देशका लागि केही गर।” तर उसले प्रश्न गर्न पाउँदैन ?
“मलाई केही गर्ने वातावरणचाहिँ कसले बनाइदिने ?”
कोही खाडीमा, कोही सपनाको देशमा, नेपालका गाउँघरमा हेर्नुस्।
घरमा युवा भेटिँदैन। कतै बुबाआमा मात्रै छन्। कतै वृद्ध हजुरबुबा–हजुरआमा छन्। घरको आँगनमा खेल्ने बालबालिका छन् तर उनीहरूका दाजुभाइ विदेशमा छन्। कैयौँ युवा खाडीका तातो मरुभूमिमा पसिना बगाइरहेका छन्। कतिपय मलेसिया, कतिपय कोरिया, कतिपय युरोप र अन्य मुलुकमा छन्। कैयौँ युवाले अमेरिका, क्यानडा, जापानलगायतका देशमा सुन्दर सपना सजाएका छन्। कोही अध्ययनका लागि गएका छन्। कोही रोजगारीका लागि। कोही स्थायी भविष्य खोजिरहेका छन्।
विदेश जानु आफैँमा गलत होइन। संसार हेर्नु, सिक्नु, कमाउनु र अवसर खोज्नु गलत होइन।
तर प्रश्न यो हो; किन हाम्रा युवाले आफ्नो भविष्य नेपालमै देख्न सकिरहेका छैनन् ? किन एउटा सक्षम युवा आफ्नो गाउँमा बसेर केही गर्छु भन्नुभन्दा विदेश गएर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने निष्कर्षमा पुग्छ ?

यो प्रश्न युवालाई होइन, राज्यलाई सोधिनुपर्छ। देशमा भएका युवा पनि कहाँ खुसी छन् ? अब विदेश गएका युवालाई मात्रै सम्झेर हुँदैन। नेपालमै रहेका युवाको अवस्था पनि त्यति सुखद छैन ।कसैसँग योग्यता छ तर जागिर छैन। कसैसँग सीप छ तर बजार छैन। कसैसँग सपना छ तर लगानी छैन। कसैसँग जोश छ तर अवसर छैन।
एकछिन युवाले आफूलाई सम्हाल्छ। “केही गर्नुपर्छ” भन्छ। नयाँ योजना बनाउँछ। केही गर्ने सामर्थ्य जुटाउँछ। तर जब अगाडि बढ्न खोज्छ, वातावरण अनुकूल हुँदैन। फेरि निराश हुन्छ। यही निराशा विस्तारै कुण्ठामा बदलिन्छ। कुण्ठा तनावमा बदलिन्छ। तनावले मानसिक स्वास्थ्यमा असर गर्छ। अनि कतिपय युवा गलत बाटोतर्फ आकर्षित हुन्छन्।
त्यसैले युवा दिवसमा युवालाई केवल “तिमी देशका कर्णधार हौ” भनेर भाषण गरेर पुग्दैन। कर्णधारलाई जहाज चलाउने अवसर पनि दिनुपर्छ। युवा नेतृत्वमा आएपछि के बदलियो ? हामी लामो समयदेखि भन्दै आएका छौँ; युवा मैत्री नीति चाहिन्छ। युवा मैत्री कार्यक्रम चाहिन्छ। युवा मैत्री शासन व्यवस्था चाहिन्छ। तर अहिले त हाम्रो देशमा युवाले नै शासन गरिरहेका छन् भन्ने अवस्था पनि देखिन्छ। प्रधानमन्त्री नै ४० वर्षभन्दा कम उमेरका छन्। यसले एउटा आशा जन्माउँछ।
तर प्रश्न फेरि त्यही हो; नेतृत्वमा एउटा युवा आउँदैमा सबै युवा खुसी हुन्छन् त ? एउटा युवा प्रधानमन्त्री हुनु राम्रो कुरा हो। तर देशका लाखौँ युवाको जीवनमा परिवर्तन आउन सकेन भने त्यसको अर्थ के रहन्छ ?
युवाको उमेर मात्र युवा भएर पुग्दैन। सोच युवा हुनुपर्छ। नीति युवा मैत्री हुनुपर्छ। शासनको व्यवहार युवा केन्द्रित हुनुपर्छ। अवसर सिर्जना गर्ने इच्छाशक्ति हुनुपर्छ। एउटा युवा सत्ताको शीर्षमा पुग्नु र लाखौँ युवाले आफ्नो जीवनमा परिवर्तन महसुस गर्नु फरक कुरा हो।
हामीलाई एउटा युवा अनुहार मात्रै होइन, युवा सोचसहितको राज्य व्यवस्था चाहिएको छ।
आज नेपाली युवा महँगीसँग जुधिरहेका छन्। दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्नै कठिन हुँदै गएको छ। शिक्षा महँगो छ। स्वास्थ्य महँगो छ। घरभाडा महँगो छ। यातायात महँगो छ।व्यवसाय सञ्चालन गर्न कठिन छ। आम्दानी र खर्चबीचको दूरी बढिरहेको छ। त्यसमाथि करको भार पनि छ।
युवालाई रोजगारी चाहिएको छ। आम्दानी बढाउने वातावरण चाहिएको छ। उद्यम गर्न सहज नीति चाहिएको छ। तर उसले आफ्नो भविष्यलाई सुरक्षित देख्न सकिरहेको छैन। युवाको जोश र जाँगर मात्रै भएर पुग्दैन। त्यसलाई सही दिशामा प्रयोग गर्ने राज्यको नीति र सामाजिक वातावरण पनि चाहिन्छ।
युवा दिवसको अर्थ फेरि खोजौँ, युवा दिवस मनाउनुपर्छ। अवश्य मनाउनुपर्छ। तर युवा दिवस केवल कार्यक्रम गरेर, भाषण गरेर, ब्यानर टाँसेर र सामाजिक सञ्जालमा शुभकामना लेखेर सीमित हुनु हुँदैन। आजको दिन हामीले एउटा ऐना हेर्नुपर्छ। त्यो ऐनामा नेपालको युवा देखिनुपर्छ। उसको खुसी देखिनुपर्छ। उसको पीडा देखिनुपर्छ। उसको बेरोजगारी देखिनुपर्छ। उसको विदेशिने बाध्यता देखिनुपर्छ। उसको मानसिक तनाव देखिनुपर्छ। उसको प्रविधिप्रतिको क्षमता देखिनुपर्छ। उसको सिर्जनशीलता देखिनुपर्छ। उसको सम्भावना देखिनुपर्छ।
र सबैभन्दा महत्वपूर्ण कुरा; उसको भविष्य देखिनुपर्छ। यदि साँच्चिकै युवा दिवस मनाउने हो भने सबैभन्दा पहिला युवालाई खुसी बनाऔँ। युवालाई देशमै बस्ने वातावरण बनाऔँ। युवालाई काम गरौँ भनेर मात्रै नभनौँ, काम गर्ने वातावरण बनाऔँ। उद्यम गर भनेर मात्रै नभनौँ, उद्यम गर्ने वातावरण बनाऔँ। देशमै बस भनेर मात्रै नभनौँ, देशमै बसेर भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाऔँ।
विदेश जान नपाऊन् भन्ने होइन। तर विदेश जानु बाध्यता होइन, विकल्प बन्ने अवस्था सिर्जना गरौँ। एक दिन होइन, ३६५ दिन युवा दिवस मनाउनु पर्छ। एक दिन युवा दिवस मनाउने अनि बाँकी ३६४ दिन युवालाई आफ्नो भविष्य खोज्दै विदेशतिर धकेल्ने हो भने त्यस्तो युवा दिवसको अर्थ के ? एक दिन मञ्चमा युवाको प्रशंसा गर्ने अनि बाँकी दिन युवाका आवाज नसुन्ने हो भने युवा दिवसको औचित्य के ? एक दिन युवालाई देशका कर्णधार भन्ने अनि बाँकी दिन निर्णय प्रक्रियाबाट युवालाई टाढा राख्ने हो भने त्यसलाई युवा मैत्री शासन कसरी भन्ने ?
त्यसैले अब युवा दिवसको परिभाषा बदल्नुपर्छ। युवा दिवस एउटा दिनमा सीमित हुनु हुँदैन। युवाले रोजगारी पाएको दिन युवा दिवस हो। युवाले आफ्नो सीप प्रयोग गर्न पाएको दिन युवा दिवस हो।
युवाले उद्यम गर्न पाएको दिन युवा दिवस हो। युवाले आफ्नो कुरा निर्धक्क राख्न पाएको दिन युवा दिवस हो। युवाले मानसिक रूपमा सुरक्षित महसुस गरेको दिन युवा दिवस हो। युवाले आफ्नो भविष्य नेपालमै देखेको दिन युवा दिवस हो। युवाको प्रतिभाले अवसर पाएको दिन युवा दिवस हो। अर्थात्, ३६५ दिन नै युवा दिवस बन्नुपर्छ।
आज विश्व युवा दिवसका अवसरमा युवालाई शुभकामना दिऔँ। तर शुभकामनासँगै एउटा प्रतिबद्धता पनि गरौँ; युवालाई केवल शुभकामना होइन, अवसर दिनुपर्छ। युवाको जोश छ। जाँगर छ। सपना छ। सीप छ। प्रविधिको ज्ञान छ। केही गर्ने अदम्य साहस छ।
अब चाहिएको छ; सबैको साथ,राज्यको, समाजको, परिवारको , नीति निर्माताको ,निजी क्षेत्रको, र सबैभन्दा महत्वपूर्ण, युवामाथिको विश्वास। किनकि युवा केवल भविष्य होइनन्। युवा वर्तमान पनि हुन्। र आजको वर्तमानलाई अवसर दिन नसक्ने देशले भोलिको भविष्य कसरी बलियो बनाउला ?
त्यसैले आज युवा दिवस मनाउँदै गर्दा एउटा प्रश्न आफैँलाई सोधौँ;
हामीले युवालाई साँच्चिकै खुसी बनाउने काम गरिरहेका छौँ कि केवल उनीहरूलाई खुसी भएको अभिनय गर्न बाध्य पारिरहेका छौँ ?
उत्तर हामी सबैले खोज्नुपर्नेछ। युवा दिवसको शुभकामना। तर त्यो शुभकामना केवल आजका लागि होइन। युवाले ३६५ दिन नै युवा दिवसको अनुभूति गर्न सकून् , यही शुभकामना!






























