
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन्। चीनको सांघाईमा शुक्रबार भएको बान्टमवेट विधाको सेमिफाइनलमा उनले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्र रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। यसअघि उनले क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

रवीन्द्रको यो सफलता नेपाली एमएमएको इतिहासमै महत्त्वपूर्ण उपलब्धि मानिएको छ। उनले यसअघि भारतमा आयोजित म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधिसमेत जितिसकेका छन्।

अब रवीन्द्रसामु रोड टु यूएफसी सिजन–५ को उपाधि जित्ने अवसर छ। फाइनलमा विजयी भए उनले विश्वकै प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। उनको फाइनल यात्रा नेपाली खेलकुद र एमएमएका लागि ऐतिहासिक उपलब्धि बनेको छ।





























