
काठमाण्डौँ : सुदूरपश्चिमको विशेष गरि बाजुरामा दशै तिहार पछिको दोस्रो ठुलो चाड पर्वका रुपमा रहेको बढी महत्वका साथ मनाइने भुवा पर्व यो बर्ष काठमाडौंमा पनि मनाइने भएको छ । बाजुरा लगायत सुदूरपश्चिमका अछाम् बझाङ लगायतका अन्य जिल्लामा समेत मनाइने भुवा पर्वलाई जगेर्ना गर्नका लागि यो पर्व काठमाडौंमा पनि मनाइने भएको हो ।

प्रदेश राजधानी धनगढीमा समेत केही वर्ष यता धुमधामका साथ मनाइदै आएको भुवा पर्व यो वर्षबाट काठमाडौंमा पनि निरन्तर गर्ने तयारीका साथ यो वर्ष काठमाडौंमा पनि मनाउने तयारी गरिएको काठमाडौंमा अध्यनरत युवा विद्यार्थी रतन बुढाले जानकारी दिएका छन् । अध्ययनको सिलसिलामा, अर्थात अन्य कामको सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका बाजुरालीहरुको आपसी भेटघाट गराउने, आपसी सहयोग, सहलार्य गर्ने, भाइचाराको सम्बन्ध कायम गरि मिलमिलापमा सहयोग पुर्याउने र सबै बाजुरालीलाई संगठित गर्ने उदेश्यले यस्तो तयारी गरिएको हो ।
उसो त यो पर्वलाई आपसी मिलमिलाप र सामाजिक सद्भाव कायम गर्ने, आफन्त र इष्टमित्रको भेटघाट गराउने, पर्वका रुपमा नै लिइन्छ । काठमाडौं महानगरपालिका १० प्रदशनी मार्ग भुकुटीमण्डपमा मंगलवार दिउँसो भएको बाजुराबासीहरुको बृहत छलफलले यस्तो निर्णय गरेको छ । छलफलमा बाजुरा जिल्ला स्थित विभिन्न राजनीति दलका नेताहरु, कलाकार, पत्रकार, विद्यार्थी समाजसेवी, कर्मचारी लगायत अन्य संस्कृति प्रेमीहरुको सहभागीता रहेको थियो ।

बिधिवत रुपमा यहीँ पुस २६ गतेबाट सुरु हुने भुवा पर्व पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुषेऔसीका दिनबाट सुरु हुन्छ । पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन रहेको छ । जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ । यहीँ पुस २६ गतेबाट सुरु हुने भुवा पर्व काठमाडौंमा पनि सोही सुरु भएको दिनको अवसर पारी १ दिन भब्यताका साथ मनाइने बताइएको छ । यसका लागि सम्पुर्ण तयारी पुरा भैसकेको छ ।

बाजुरामा परम्परा देखि मनाईदै आएको परम्परा अनुसार नै भुवा खेलिनेछ । बाजुरामा खेलिने भुवा पर्वको झझल्को काठमाडौंमा देखाउन खोजिएको हो । बाजुरामा जसरी बिगत देखि खेलिने प्रचलन छ त्यसरी नै खेल्ने तयारी छ । तीनदेखि पाँचदिनसम्म मनाइने भुवा पर्व बाजुराका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, गुदुखाती, जुगाडा, कुल्देवमाण्डौ लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बिच भएको लडाइको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको छ । यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ ।
लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ । भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रदर्शन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ ।
जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ । पुरुषहरूको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाहरूले पनि हातमा तरबार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् ।
यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान्, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । भुवा पर्वका अवसरमा बह्मातोलामा होरीनो पर्व मनाइने भएको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हलिया जस्तै वस्तुको प्रदर्शनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्बिरहरू पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।
जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगायत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ ।





























