
काठमाडौँ:आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले नामिबियालाई जितका लागि एकसय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । पेभेलियन फर्किनुअघि उनले ५८ रन बनाए । कुशल मल्लले ३६ रन जोडे । भीम सार्कीले २६ रन बनाए । ओपनर कुशल भुर्तेलले १८ र तल्लो क्रमका ब्याट्सम्यान केरण केसीले १२ रन जोडे ।
टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै तीन प्रभावशाली विकेट गुमाएको नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । नामिबियाका बलर बेनार्ड स्कोल्ज र जन निकोल लफ्टी एटनले चार–चार विकेट लिए ।






































