
आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो ।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

यद्यपी उनी ६६ रन बनाएर आउट भए। उनले ९३ बलमा ८ चौका प्रहार गरे। सातौं विकेटको रुपमा आउट भएका उनले मध्यक्रका ब्याटरबाट राम्रो साथ पाउन सकेनन्। उनी आउट हुँदा नेपालले ३६.३ ओभरमा १२२ रन जोडेको थियो।

दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भएका छन्। डि लीडको बलमा रोहितले हानेको प्रहार लिडको खुट्टमा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए। त्यतिबेला ऐरीले क्रिज छाडेका थिए। दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए।






























