
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठकपछि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । सो पार्टीको फागुन १०, १३, १५ र १६ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो । बैठकको निर्णयअनुसार पार्टीले बिहीबार मातहतका कमिटीमा सर्कुलर पठाएको एक नेताले बताए । ती नेताका अनुसार अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा सुदूरपश्चिममा पार्टीमा देखिएको समस्याबारे विशेष उल्लेख गरिएको छ ।

जसमा माओवादीले सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको छ । ‘सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहो(याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीको सर्कुलरमा भनिएको छ ।
माओवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई पार्टीकै एक समूहले पदबाट हटाएको थियो । सर्कुलरमा सचेत गराउने भनिए पनि सो गल्ती उल्ट्याउने निर्णय भने भएको छैन । गत माघ दोस्रो साता सुदूरपश्चिम संसदीय दलको नेता भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाउने निर्णय भएपछि विवाद रहँदै आएको छ । यो विषयमा स्थायी कमिटी बैठकमा समेत छलफल भए पनि कारबाही भने कसैमाथि पनि नभएको हो । यस्तै बैठकले चार महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान मूलतः सफल भएको निष्कर्षसहित सबै प्रदेशमा खटिएका केन्द्रीय सदस्यहरूको सन्दर्भमा उत्कृष्ट काम गर्ने तीन जनाको नामावली हरेक प्रदेशबाट मागेको छ । यस्तै अभियानमा सहभागी नभएकाहरूको नामावली र उनीहरूको स्पष्टीकरण सहितको सिफारिस पनि प्रदेश इन्चार्जहरूले अविलम्ब केन्द्रीय कार्यालयमा पठाउनुपर्ने छ ।




यस्तै माओवादीले तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) चैत्र १५ गतेदेखि चैत्र मसान्तसम्म सञ्चालन गर्ने र २०८१ साल वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने जानकारीसहित सर्कुलर पठाएको छ । अभियानको नेतृत्व सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने र त्यसको व्यवस्थापन पनि सम्बन्धित प्रदेशहरूले गर्ने सर्कुलरमा उल्लेख छ । अभियानको रुट, नारा र कार्यक्रमिक रूपरेखाका बारेमा निर्देशिका जारी गरिने बताइएको छ । यस्तै बैठकबाट माओवादीले सङ्गठनात्मक कार्यबिभाजन पनि गर्ने निर्णय गरेको छ । जसअनुसार पूर्व १ नं प्रदेश ९कोशी० इन्चार्जमा केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल, सह–इन्चार्ज केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले चयन हुँदा मधेस प्रदेश इन्चार्जमा केन्द्रीय सचिव लीलामणि पोख्रेल, सह–इन्चार्ज स्थायी समिति सदस्य विश्वनाथ शाह चयन भएका छन् ।


































