कैलालीमा ५० हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

Image
Nisarga Hospital

धनगढी ः कैलालीमा ५० हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ५० हजार ६१६ किशोरीलाई खोप लगाइने छ।

CP Hospital Dhangadhi

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानका लागि ५४६ विद्यालय, १५९ स्वास्थ्य केन्द्र तथा अन्य स्थानहरूमा खोप केन्द्र तोकिएको छ। विद्यालयमा रहेका खोप केन्द्रमार्फत ४७ हजार ३२६ छात्रालाई र विद्यालय नजाने ३ हजार २८७ किशोरीलाई खोप दिने योजना छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार जोशिपुर गाउँपालिकामा माघ २४ गते र मोहन्या गाउँपालिकामा माघ २७ गतेदेखि खोप कार्यक्रम सुरु हुनेछ। अन्य ११ स्थानीय तहमा माघ २२ गतेदेखि नै खोप अभियान सञ्चालन हुनेछ।

जिल्लाका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा १० हजार ८३४ किशोरीलाई खोप लगाइनेछ भने सबैभन्दा कम चुरे गाउँपालिकामा १ हजार १०८ जनालाई खोप दिइनेछ। अभियान सफल बनाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको बताइएको छ।

स्वास्थ्य तालिम केन्द्र धनगढीका निर्देशक नरेन्द्रसिंह कार्कीका अनुसार पाठेघरको क्यान्सरका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न यो अभियान सञ्चालन गरिएको हो। उनले किशोरीहरूलाई सुरक्षित भविष्यमाथि सोच्न आग्रह गर्दै खोप कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरेका छन्।