
अत्तरिया : एक साता बढी समय पूर्वराजा ज्ञानेन्द्र शाह पोखरालाई आधार क्षेत्र बनाएर आफ्नो गतिविधि गरे । त्यहाँ रहँदा पूर्व राजा ज्ञानेन्द्रले सपरिवार पोखरा र आसपासका धार्मिकस्थल भ्रमण पनि गरे । ज्ञानेन्द्रको पोखरा भ्रमण राजनीतिक नभइ नितान्त धार्मिक नै थियो । पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न मन्दिरहरूको दर्शन गरेपछि पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए । सोही भ्रमण सकेर उनी आज दिउँसो काठमाडौं फर्किन लागेका छन् । उनको स्वागतमा राजावादीहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् ।

पोखरा भ्रमण अघि प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्थाको पुनर्स्थापनाको विषय उठाएका थिए । त्यसयता राजसंस्थावादी समूहहरूले आन्दोलनलाई तीव्रता दिएका छन् । उनीहरू चाँडै नै राजसंस्था फर्किने दाबी गरिरहेका छन् ।
पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरूमा सक्रिय भइरहँदा त्यहाँ राजावादीहरूको गतिविधि पनि ह्वात्तै बढेको थियो । संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पोखरामा प्रदर्शन गरेर शक्ति प्रदर्शन गर्यो भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले पनि पोखरामा सभा गर्यो । आज भने राजावादी पार्टी र सङ्घसंस्थाहरूले सामूहिकरुपमा राजतन्त्रको पुनर्बहालीको लागि काठमाडौंमा ज्ञानेन्द्रको स्वागत गर्दैछन् ।

ज्ञानेन्द्र पोखराबाट जहाजमा दिउँसो करिब साढे २ बजेतिर काठमाडौंमा आउने छन् । उनको स्वागतमा राजावादीहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् । उनीहरु काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट र्याली निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर पुग्नेछन् । र ज्ञानेन्द्रलाई महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउने छन् ।
































