
इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा पञ्जाब किङ्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेटमा २४३ रन जोड्यो भने गुजरात २० ओभरमा ८ विकेटमा २३२ रन बनाउन सिमित भयो।

कप्तान श्रेयास ऐयारले ४२ बलमा ९७ रन (५ चौका, ९ छक्का) को आक्रमक पारी खेले। उनी शतक गर्न मात्र ३ रन चुके। शशांक सिंहले १६ बलमा ४४ रन (६ चौका, २ छक्का) जोडेर टिमलाई मजबुत स्कोर बनाउन मद्दत गरे। प्रियांश आर्यले २३ बलमा ४७ रन जोडे।
गुजरातले पञ्जाबको २४४ रनको लक्ष्य पछ्याउँदा साइ सुदर्शनले ४१ बलमा ७४ रन र शुभमन गिलले १४ बलमा ३३ रन जोडे। सेफन रुदरफोर्ड (४६ रन) र जोस बटलर (५४ रन) ले मध्यक्रममा संघर्ष गरे तापनि टिम लक्ष्य हासिल गर्न असफल रह्यो। पञ्जाबका आर्सदीप सिंहले ४ ओभरमा २ विकेट लिएर गुजरातको रन चेस प्रभावित पारे।


यस जितसँगै पञ्जाब किङ्सले यस संस्करणको आईपीएलमा विजयी सुरुवात गरेको छ भने गुजरात टाइटन्सले पहिलो खेलमै हार बेहोर्यो। अहिलेसम्म सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सले जित दर्ता गरिसकेका छन् भने गुजरात टाइटन्स, लखनऊ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले हार बेहोरेका छन्।
आईपीएलको अर्को खेल कलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ।






























