
कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) अन्यत्र सार्ने तयारी विरुद्ध स्थानिय स्तरमा चर्को विरोध सुरु भएको छ। स्थान अभावको बहानामा आयोजनालाई धनगढी सार्न खोजिएपछि शुक्रबार सरोकारवालाहरूले अत्तरियामा आपतकालीन छलफल गर्दै कडा आपत्ति जनाएका छन्।

छलफलमा सहभागी सबैले आयोजनाको आवश्यकता अत्तरियामै रहेको स्पष्ट गर्दै कुनै हालतमा नसरिनुपर्ने अडान राखे। गोदावरी–१ का वडाध्यक्ष गोपाल भट्टले आयोजनालाई आवश्यक पर्ने स्थान स्थानीयले दिन तयार रहेको बताए। तर केही कर्मचारीको मिलोमतोमा योजना धनगढी सार्न खोजिएको आरोप लगाए।

स्थानिय शेरबहादुर बिष्टले विगतमा पनि अत्तरियाबाट महत्वपूर्ण परियोजनाहरू बाहिरिएको स्मरण गराउँदै यसपटक सबै सचेत हुनुपर्ने बताए। काँग्रेसका युवा नेता लोकराज पाण्डेले गत पुस–माघमै परियोजना सार्ने प्रयासबारे जानकारी पाएपछि सम्बन्धित निकायलाई सचेत गराए पनि बेवास्ता भएको गुनासो गरे। अब सबै एकजुट भई आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो।

युवा प्रेमराज भट्टले राजनीतिक दलहरूको चासो नहुँदा अत्तरिया स्थायी परियोजनाबाट वञ्चित हुँदै गएको उल्लेख गरे। “संरचना नै पलायन हुँदै जान थाले भने राजनीति केका लागि?” भन्ने प्रश्न उनले उठाए।

पूर्व वडाध्यक्ष शर्मानन्द भट्टले डीडीसीका हाकिमकै कारण आयोजनालाई सार्ने अवस्था सिर्जना भएको आरोप लगाए। उनले डीडीसीको स्थान अत्तरियाबाहेक अन्यत्र पाउनै नहुने दाबी गरे। सहभागी अन्य सरोकारवालाहरूले पनि डीडीसी अन्यत्र सरेमा बृहत आन्दोलनको चेतावनी दिएका छन्।
































