
देशभरको मौसममा पश्चिमी प्रणाली, स्थानीय वायु र जलवाष्पयुक्त हावाको प्रभावले अस्थिरता देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती लगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा छ।

बागमतीका केही स्थानहरूमा र कोशी, मधेस, गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हालै मनसुन बङ्गालको खाडी र अरब सागर हुँदै मालदिभ्स, श्रीलङ्का लगायतका क्षेत्र हुँदै सक्रिय भएको छ र बङ्गालको खाडीबाट जमिनतर्फ विस्तार हुँदैछ।

आज दिउँसो र राति सातै प्रदेशमा आंशिकदेखि सामान्य बदलीको स्थिति रहनेछ भने केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा यस्तो अस्थिरता रहँदा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
































