भारत फेरि कोरोना संकटमा : तीन राज्यमा ८५% संक्रमण, दिल्लीमा केहीको मृत्यु

Image
Nisarga Hospital

केही समय शान्त देखिएको भारतमा फेरि कोरोनाभाइरस संक्रमणको चपेटा बढ्न थालेको संकेत देखिएको छ। सरकारी तथ्यांकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले पछिल्लो हप्ता संक्रमण दर तीव्र गतिमा बढिरहेको जनाएका छन्।

CP Hospital Dhangadhi

टाइम्स अफ इन्डिया को रिपोर्टअनुसार, मे महिनाको सुरुदेखि सुरु भएको संक्रमणको वृद्धिले हालसम्म देशभर संक्रमितको संख्या २५७ पुगेको छ। पछिल्लो मात्र एक हप्तामा १६४ जना नयाँ संक्रमित थपिएका छन्।

राज्यस्तरमा हेर्दा, केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेका छन्। यिनै तीन राज्यमा कुल संक्रमितको ८५ प्रतिशत हिस्सा रहेको छ — केरलमा ९५, तामिलनाडुमा ६६, र महाराष्ट्रमा ५६ सक्रिय संक्रमित छन्।

nawajiwan

दिल्लीमा समेत चिन्ताजनक संकेत देखिएको छ। गत साता दुई जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि मृतकहरूमा अन्य दीर्घरोगहरू पनि देखिएको जनाइएको छ।

अन्य राज्यहरूमध्ये पुडुचेरीमा १०, कर्नाटकमा १३, गुजरातमा ७, राजस्थानमा २, र हरियाणा, सिक्किम, पश्चिम बंगालमा १/१ जना सक्रिय संक्रमित फेला परेका छन्।

Attariya Hospital

केरलमा पछिल्ला दिनहरूमा ६६ जना नयाँ संक्रमित भेटिएको भए तापनि उनीहरू सबै घरमै उपचारमा रहेको र अहिलेसम्म गम्भीर लक्षण देखिएको छैन।

स्वास्थ्य विज्ञहरूका अनुसार यसपटकको संक्रमण ओमिक्रोन भेरियन्टको नयाँ रूप जेएन.१ सँग सम्बन्धित देखिएको छ — जसको संक्रमण केही अघिमात्र नेपालमा पनि देखिएको थियो। भिडभाड, यात्राको वृद्धि, र सतर्कता नअपनाइनुले संक्रमण फेरि चुलिन थालेको उनीहरूको आकलन छ।

कोरोनाको पहिलो लहरदेखि हालसम्म भारतमा साढे चार करोडभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

स्वास्थ्य अधिकारीहरूले पुनः सचेत रहन, भीडभाडबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। यसैबीच, सिंगापुर र हङकङमा पनि संक्रमणदर उकालो लागिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।