
दार्चुलाको डाडाकोटका नरेश अवस्थी महाकाली करिडोर निर्माणले सुदूरपश्चिमको समृद्धिमा क्रान्ति ल्याउने विश्वास गर्छन्। नेपाल-भारत-चीन जोड्ने तिङ्कर नाका खुल्ने भएपछि व्यापार र रोजगारीको ढोका खुल्नेमा उनी आशावादी छन्।

महाकाली नदी किनारैकिनार बन्ने यो करिडोरले कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म छोटो दूरीको सडक सुविधा दिनेछ। भारत र चीनसँगको कनेक्टिभिटी कायम भई त्रिदेशीय व्यापार बढ्ने, धार्मिक पर्यटन फस्टाउने, र सुदूरपश्चिमको आर्थिक-सामाजिक विकासमा कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ।
करिडोरले सुदूरपश्चिमका प्रमुख धार्मिकस्थलहरू– सिद्धवैजनाथ, त्रिपुरा सुन्दरी, मालिकार्जुनधामलाई जोड्दै धार्मिक पर्यटनमा समेत योगदान पुर्याउनेछ।


महाकाली करिडोर सडक योजनाअन्तर्गत ३३४ किमी सडक निर्माण हुँदैछ, जसमा हालसम्म २३० किमी ट्र्याक खुलेको छ। परियोजनाका लागि ४१ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
कञ्चनपुर, डडेल्धुरा, बैतडी, र दार्चुलाका झन्डै एक करोड जनतालाई प्रत्यक्ष लाभ पुग्ने सरकारको दाबी छ। कैलाश मानसरोवरको छोटो मार्गको रूपमा पनि यसको रणनीतिक महत्त्व रहेको छ।
सरकारले शीघ्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ।





























