
चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको शुक्रबार राति निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनी केही महिनादेखि थलिएकी थिइन् र स्तन क्यान्सरलगायत विभिन्न रोगबाट पीडित थिइन्।

श्रेष्ठले ‘मेरी बास्सै’ मा ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा प्रभावशाली अभिनय गरेकी थिइन्, जसले उनलाई नेपाली टेलिभिजन दर्शकमाझ चिनायो र लोकप्रियता दिलायो।
दुई दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा सक्रिय श्रेष्ठले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन्। यस्तै, थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोहरूमा समेत उनको अभिनय देखिएको थियो। निर्देशक शिवहरि पौड्यालको फिल्म ‘लक्का जवान’ मा समेत उनले अभिनय गरेकी थिइन्।




श्रेष्ठको निधनले नेपाली कलाकारिता क्षेत्रले एक कुशल कलाकार गुमाएको छ। कलाकार, दर्शक तथा शुभेच्छुकले उनको योगदान सम्झँदै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।



































