
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्टदेखि जापान, दक्षिण कोरिया लगायत १४ देशबाट आयात हुने वस्तुमा नयाँ आयात कर लागू गर्ने घोषणा गरेका छन्। जापान र दक्षिण कोरियाका सामानमा २५ प्रतिशत कर लगाइनेछ भने म्यानमारमा ४०, कम्बोडिया र थाइल्यान्डमा ३६, सर्बिया र बङ्गलादेशमा ३५ प्रतिशत आयात कर लाग्नेछ।

इन्डोनेसिया (३२%), दक्षिण अफ्रिका (३०%) र मलेसिया तथा ट्युनेसिया (२५%) का सामानहरूमा पनि नयाँ कर व्यवस्था लागू गरिनेछ। ट्रम्पले सामाजिक सञ्जालमार्फत कर योजनाको घोषणा गर्दै अमेरिका–विदेश सम्बन्धको उतारचढावसँगै करको दर घटबढ हुन सक्ने जनाएका छन्।

उनको भनाइमा यो निर्णयले अमेरिकी घरेलु उत्पादनलाई प्रोत्साहन दिनेछ। तर विश्लेषकहरूका अनुसार व्यापारमा कमी र सेयर बजारमा अस्थिरता देखिने सम्भावना रहेको छ। सोमबार टोयोटाको सेयरमा चार प्रतिशत गिरावट आएको थियो।

सन् २०२३ मा जापानले अमेरिका निर्यात गरेको सामानको मूल्य १४८ अर्ब डलर पुगेको थियो। अमेरिका हाल बेलायत, भियतनाम र चीनसँग व्यापार वार्तामा जुटिरहेको छ भने भारतसँग सम्बन्ध सुदृढ पार्ने प्रयासमा छ।































