
हास्य रियालिटी शो Comedy Champion का सञ्चालक विशाल भण्डारीले एक लगानीकर्ताको गतिविधिले आफू र आफ्नो कम्पनी समस्यामा परेको गम्भीर आरोप सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत भण्डारीले झण्डै १८ महिनाअघि आफूलाई एनआरएन (NRN) बताउने एक लगानीकर्ता ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सर्तमा कम्पनीमा ३० प्रतिशत सेयर लिएर प्रवेश गरेको उल्लेख गरेका छन्। तर, लगानीसम्बन्धी सहमतिविपरीत चेकमार्फत दबाब दिँदै ती लगानीकर्ताले हालसम्म २ करोड ४० लाख असुली गरिसकेको र निरन्तर अवरोध गरिरहेको आरोप भण्डारीले लगाएका छन्।
उनका अनुसार कार्यक्रम रोकिने, कम्पनीका खाता रोकिने, स्टाफको तलब रोकिने तथा सिजन ३ का विजेतालाई पुरस्कारसमेत वितरण गर्न नसकिने अवस्था उत्पन्न भएको छ।


भण्डारीले मुद्दा, धम्की र प्रभाव प्रयोगमार्फत आफूहरूलाई मानसिक त्रास दिइएको भन्दै न्याय, कानुनी संरक्षण र स्वतन्त्र काम गर्न पाउने वातावरणको माग गरेका छन्। उक्त विषय प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसम्म पुर्याइएको समेत उनले बताएका छन्।
“हामी यही देशमा बसेर नेपाली दर्शकलाई हँसाउन चाहन्छौँ,” भण्डारीले लेखेका छन्, “तर इमान्दार प्रयासलाई निरन्तर निसाना बनाइँदैछ।”
































