
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका छन्।

शुक्रवार काठमाडौंको मध्यबानेश्वरमा बसेको केन्द्रीय सदस्यहरूको भेलाले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक आह्वान गर्न माग गर्दै चेतावनी दिएको हो। बैठक नबोलाइए साउन ११ गते दिउँसो २ बजे नयाँ बानेश्वरमा बैठक बसेर आवश्यक निर्णय लिइने पनि जनाइएको छ।

नेताहरूका अनुसार पार्टीलाई गतिशील बनाउने र आन्तरिक संरचना सुदृढ गर्न केन्द्रीय समिति बैठक आवश्यक भएको भन्दै अध्यक्ष श्रेष्ठलाई पटक–पटक मौखिक अनुरोध गरिएको थियो। तर, अध्यक्षले कुनै पहल नगरेपछि बैठक आह्वानको लिखित पत्र विद्युतीय सञ्चार माध्यममार्फत पठाइएको जनाइएको छ।

पार्टीका शुभेच्छुक, सदस्य तथा सर्वसाधारणसम्म उक्त जानकारी पुर्याउने गरी पत्र सार्वजनिक गरिएको छ। यदि अध्यक्षले मिति २०८२ साउन ९ गतेदेखि २४ घन्टाभित्र बैठकको समय र स्थान तोकेर बैठक आह्वान नगरेमा स्वतन्त्र रूपमा बैठक आह्वान गरी आवश्यक निर्णय लिने चेतावनी दिइएको छ।





























