चीनको विशाल सैन्य परेड : हाइपरसोनिकदेखि आणविक हतियारसम्म प्रदर्शन

Image
Nisarga Hospital

फासीवादविरुद्धको विजय र जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोधी युद्धको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले बुधबार भव्य सैन्य परेड आयोजना गर्‍यो। राष्ट्रपति सी चिनफिङसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्व नेताहरू सहभागी थिए।

CP Hospital Dhangadhi

परेडमा चीनले पहिलो पटक जमिन, समुद्र र आकाशबाट आणविक हतियार प्रहार गर्न सक्ने मिसाइलहरू सार्वजनिक गर्‍यो। डीएफ–६१ अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, साइलो–आधारित डीएफ–३१, वाइजे–१९ क्रुज मिसाइल र नयाँ पनडुब्बी–विरोधी प्रणालीले विश्वको ध्यान खिच्यो। यी क्षमताले चीन अब अमेरिका र रूससरह त्रिआयामी आणविक शक्ति भएको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।

हाइपरसोनिक मिसाइल, सुपरसोनिक ड्रोन, एन्टी–ड्रोन प्रणाली, उच्च शक्ति लेजर तथा माइक्रोवेभ हतियार पनि प्रदर्शनमा परे। यसले ताइवानमा सम्भावित द्वन्द्वलाई ध्यानमा राखेको स्पष्ट सन्देश दिएको विशेषज्ञहरूको टिप्पणी छ।

nawajiwan
Attariya Hospital

परेडमा मानव रहित समुद्री पनडुब्बी ड्रोन, ठूला हवाई ड्रोन र विमानबाट खसाल्न मिल्ने बख्तरबन्द गाडीसमेत प्रदर्शन गरियो। यी उपकरणहरूले भविष्यका युद्धमा मानवीय क्षति न्यून पार्दै दक्ष युद्ध क्षमता प्रस्तुत गर्ने चीनको लक्ष्य देखाएको छ।

सन् २०१९ को तुलनामा यसपटक चीनले अझ शक्तिशाली र प्राविधिक रूपमा उन्नत हतियार प्रदर्शन गरेको थियो। अमेरिकी मिडियाले परेडले जनमुक्ति सेनामा भइरहेको ठूलो संरचनात्मक परिवर्तनलाई पनि प्रस्ट्याएको उल्लेख गरेका छन्।