
मनभित्रै लुकी बस्ने,पाए म नि लुकाउॅथे।
ॲाखाको नानीमा बस्ने,पाए म नि बसाउॅथे।१।

कहॅा नागमणी सर्प, भेटिन्छन् दुनियॅाभरी !
त्यस्तो हुने भए मान्छे, सर्पकै खोजी गर्दथे।२।
जो फुल्छन् बारीमा फूल, एकै पल्ट त फुल्दछन्।
सधैं फुल्ने भए मान्छे, बीज नै किन राख्दथे ?३।

यतिका झरना बग्छन्, यतिका नदि बग्दछन्।
नराखे सिन्धुले पानी, कहॅा ती बग्न सक्दथे ?४।
तारा असंख्य चन्कन्छन्, मुक्त आकाशमा सधैं।
नदिए व्योमले वास, कहॅा चम्किन सक्दथे ?५।
छाती चिरेर धर्तिले, अन्नवाली फलाउॅछिन् ।
अन्यथा प्राणिले खाना, कसरी खान पाउॅथे?६।
सीमामा सैन्यले रक्षा, सीमाको गरि राख्तछ ।
नत्र ता जनता हाम्रा, कसरी सुत्न पाउॅथे ?७।

सृष्टि बाटै भएको छ, ब्यवस्था नर नारिको।
अन्यथा धर्तिमा प्राणि, कसरी जन्म पाउॅथे?८।
यस्तो ब्रह्माण्डको शान्ति, यस्तो आराम वैभव !
नपाए प्राणिले फेरी, कसरी बस्न पाउॅथे ?९।
जन्म मृत्यु जरा ब्याधि, सृष्टिको नै बिधान छ ।
अन्यथा कसरी प्राणि, धर्तिमा नै अटाउॅथे ?१०।
धन्य ब्रह्माण्डको शक्ति, धन्य ईश्वरको कृपा !
नभए यति सामर्थ्य, कहॅा को बॅाच्न पाउॅथे ! ११।
सहअस्तित्वको भाव, छ र पो सुख शान्ति छ।
अन्यथा प्राणिले रक्षा, कसरी गर्न पाउॅथे ?१२।
डा. टेकराज पन्त































