
एसिया कप अन्तर्गत यूएईमा गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर फिल्ड रोजेको श्रीलंकाविरुद्ध हङकङले २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनायो। अन्श्या रथले नटआउट ५२ रन र निजाकत खानले ४८ रनको योगदान दिए। श्रीलंकाका दुष्मन्थ चमेराले २ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याउँदै श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै जित निकाले। पथुम निसानकाले ४४ बलमा ६८ रनको अर्धशतक बनाए भने हङकङका असिम मुर्तजाले २ विकेट लिए।

यो जितसँगै श्रीलंका समूह ‘बी’मा चार अंकसहित शीर्ष स्थानमा पुगेको छ। अफगानिस्तान र बंगलादेशसँग दुई-दुई अंक छन् भने लगातार हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘ए’मा भारत शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो स्थानमा छ।
































